तपाईं यहाँ हुनुहुन्छ
Home > समाचार > मरिन -२ बालश्रममुक्त क्षेत्र घोषणाको अन्तिम तयारीमा

मरिन -२ बालश्रममुक्त क्षेत्र घोषणाको अन्तिम तयारीमा

सिद्धार्थ गौतम
चैत्र १ , काठमाण्डौ

सिन्धुली जिल्लाको मरिन गाउपालिकाको वडा न २ बालश्रम मुक्त क्षेत्र घोषणाको अन्तिम तयारीमा जुटेको छ | गत श्रावणमा मरिनकै छापमा भएको बाल भेलाबाट गठन भएको गाउपालिकास्तरिय बालक्लबको सक्रियता , स्थानिय जनप्रतिनिधिहरुको दरिलो साथ् तथा नेतृत्व एवं बाल अधिकारका लागि राष्ट्रिय अभियानको समन्वयकारी भूमिकाको कारण यस कार्यमा सफलता मिलेको वडाअध्यक्ष चन्द्रनाथ गौतम बताउनुहुन्छ | अभियानका प्रदेश न ३ का संयोजक समेत रहेका सोहि वडाका स्थानिय बाल अधिकार अभियान्ता सन्तलाल बोम्जन बताउनुहुन्छ “हामीले एउटा स्पस्ट योजना सहित अघाडि बढ्यौ , हामीले विचमा आएका चुनौतीहरुलाई मिलेरै पन्छायौ ,गाउपालिका प्रमुख सहित सबै अभिभावक ,सरोकारवालाहरु यस कार्यमा एकजुट देखिए , यो नै हाम्रो सफलताको कारक हो ” |अब यस वडा लगत्तै ६ नम्बर वडामा काम गरिने र क्रमश रुपमा अन्य वडाहरुमा समेत अभियान संचालन गरि आगामी २ वर्ष भित्र गाउपालिकालाइ नै बालश्रम मुक्त बनाउने योजना रहेको बताइएको छ |

अभियानको “बालश्रममुक्त स्थानिय तहको परिकल्पना कार्ययोजना -२०७३ ” कै योजना अनुसार सो वडालाई बालश्रम मुक्त घोषणा गर्न लागिएको हो | उक्त कार्ययोजना हाल विभिन्न निकायले परिकल्पना गरेको योजना भन्दा पृथक र प्रभावकारी योजना भएको सो अभियानका बालश्रम उपसमितिका संयोजक धिरज जोशी बताउनुहुन्छ | सो योजनामा तिन चरण देखाइएको छ ,जसमध्य पहिलो चरणमा एकिन तथ्यांक पत्ता लगाउने र सो स्थानिय तहको क्षेत्र भित्रको बालश्रमिकहरुको उद्दार र व्यवस्थापन गर्ने रहेको छ | यसैगरी , दोश्रो चरणमा सो स्थानिय तहबाट श्रमका लागि बाहिर गएका बालबालिकाहरु लाइ उद्दार र गरि गाउमै अथवा वैकल्पिक रुपले व्यवस्थापन गर्ने योजना छ भने तेश्रो चरणमा स्थानिय सरकार आफैले सो स्थानिय तहभित्र श्रममा लगाउने अभिभावक अथवा व्यक्तिलाई कारबाही गर्ने किसिमको नीति तथा नियम तर्जुमा गर्ने र लागु गराउने रहेको छ |

हाल मरिन -२ अघिल्ला दुइ चरणहरु पार गर्दै अन्तिमको नियम तर्जुमा गर्ने चरणमा पुगेको छ | यस विचमा स्थानिय तहबाटै वडाध्यक्षको नेतृत्वमा महिला संजालका प्रतिनिधि , बाल संजाल प्रतिनिधि , बालक्लब सहजकर्ता सहितको टिम काठमाण्डौ आइ सो वडाबाट श्रममा आएकाहरुको बालबालिका खोजतलास केन्द्र १०४ र बागमती श्रम कार्यालयले उद्दार गरेको थियो |यसक्रममा ६ जना बालबालिकाहरुको ललितपुर र भक्तपुरका इट्टभट्टा तथा एक बालिकाको गलैचा कारखाना बाट उद्दार भएको थियो | गरिबी र बालश्रम परिपुरक भएकाले अब ति उद्दार भएका बालबालिकाहरु शिक्षा र अभिभावकलाइ रोजगारका लागि विशेष योजना बनाइएको छ | अबको एक महिनाभित्रै सबै तयारि पुरा गरेर व्यापक प्रचारप्रसार गर्ने र भव्य कार्यक्रमका विच घोषणा गर्ने तयारि रहेको वडाध्यक्ष गौतम बताउनुहुन्छ |
बाल अधिकारका लागि राष्ट्रिय अभियानले देशभर एक साथ् ५ वटा गाउ/नगरपालिकालाइ नमुना बालश्रम मुक्त स्थानिय तह बनाउने परिकल्पना सहित कार्ययोजना अघि बढाएकोमा सिन्धुलीको मारिन-२ पहिलो हुने लगभग निश्चित भएको छ | यस वडामा सफल भएलगत्तै देशव्यापी रुपमा आफुहरुले माहोल तताउने र ५ वर्ष भित्रै देशका सबै किसिमका बालश्रमहरु अन्त्य गराएरै छाड्ने र नेपाललाई नै बालश्रममुक्त देश बनाएरै छाड्ने अभियानका केन्द्रिय संयोजक प्रविन सिलवाल बताउनुहुन्छ |

यसरी एउटा विकट तामाङ्ग वस्ती बालश्रममा यति सचेत भएर अघि बढ्न र सफल हुन सक्छ भने अब यस किसिमका अभियान हरेक स्थानिय तहमा लागु हुनुपर्ने हैन र ? बाल अधिकार सम्बन्धी महासन्धिको २९ वर्ष सम्म पुगिसक्दा अब यसरी पो अघि बढ्ने कि ?

Similar Articles

Top