तपाईं यहाँ हुनुहुन्छ
Home > सुचना/प्रबिधि > नेपालमा पब्जी खेल प्रतिबन्ध लगाइयो

नेपालमा पब्जी खेल प्रतिबन्ध लगाइयो

२८ चैत, काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

केन्दि्रय प्रहरी अनुसन्धान व्यूरोले पब्जी खेलमा प्रतिबन्ध लगाउन काठमाडौं जिल्ला अदालतसमक्ष स्वीकृतिको लागि माग गरेको थियो।

अदालतले मनोचिकित्कससँग परामर्श लिई खेल बन्द गर्न बुधबार स्वीकृति दिएको हो। सोही अदालतको स्वीकृति अनुसार व्यूरोले प्राधिकरणलाई खेल प्रतिबन्ध लगाउने गरी सेवा प्रदायकलाई निर्देशन दिन पत्र लेखेको थियो।

भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल खेल खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको भारतीय मिडियाहरुले जनाएको थियो ।

केही समय अगाडि पब्जीले मानसिक समस्या निम्त्याएको अनुसन्धानबाट पत्ता लागेपछि यसलाई छिटो भन्दा छिटो बन्द गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका थिए ।

Similar Articles

Top