तपाईं यहाँ हुनुहुन्छ
Home > देश > अब अन्तरिक्षमा नेपाली स्याटेलाइट

अब अन्तरिक्षमा नेपाली स्याटेलाइट

नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजे नेपालले आफ्नो पहिलो स्याटेलाइट (भू-उपग्रह) उडाएर अन्तरिक्षमा पठाएको छ।

अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनी ‘अर्बिटल एटिके’ को रकेटबाट उडेको भू-उपग्रहलाई नेपालको विज्ञान क्षेत्रकै एक महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूउपग्रह अन्तरिक्षमा उडेसँगै नेपाल पनि सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको बताएका छन्।

‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।

नेपाली झन्डा र विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहितको उक्त भू-उपग्रहलाई ‘नेपाली स्याट-१’ नाम दिइएको छ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले यो उडानको प्रत्यक्ष प्रसारण गरेको थियो।

नास्टको प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालका अनुसार नेपालले उडाउन लागेको स्याटेलाइट ‘नानो’ वर्गमा पर्छ। नानो भनेको सानो आकारको हो, जुन एकदेखि १० किलोको हुन्छ। योभन्दा सानो स्याटेलाइट पनि हुन्छ, जसलाई ‘पिको’ भनिन्छ। यसको तौल सय ग्रामदेखि एक किलोसम्म हुन्छ।

हाम्रो स्याटेलाइटको तौल १ किलो ३ सय ग्राम छ। यसको लम्बाइ, चौडाइ र उचाइ १०-१० सेन्टिमिटर छ। यसले खिचेका तस्बिर र सूचनाले सम्बन्धित ठाउँको प्रारम्भिक अवस्था अध्ययन गर्न मद्दत पुग्ने ढकालले बताए।

यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि एक महिना इन्टरनेसनल स्पेस स्टेसनमा (आइएसएस) मा गएर बस्नेछ। यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको ‘पार्किङ’ जस्तै हो।

त्यहाँ अन्तरिक्षयात्रीहरूले यसलाई परीक्षण गर्नेछन्। प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल हाम्रो स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्नेछ।

‘बिहीबार उडेको स्याटेलाइटले मे अन्त्यबाट पृथ्वीको चक्कर काट्न थाल्ने अनुमान छ,’ ढकालले भने, ‘त्यसको तीन दिनपछि यसले तथ्यांक पठाउन सुरु गर्छ।’

यो स्याटेलाइटलाई पृथ्वीको एक चक्कर काट्न ९० मिनेट लाग्नेछ। यस क्रममा नेपालको आकाशमाथि दैनिक ५ देखि १० मिनेट रहन्छ। यसले पृथ्वीबाट करिब ४ सय किलोमिटर टाढा फन्को मार्नेछ।

तीन वर्ष आयु रहेको यो स्याटेलाइटले पठाउने तस्बिरहरू एकदमै सामान्य खालका हुने ढकालले जानकारी दिए।

हुन त स्याटलाइटले खिच्ने तस्बिरबाट हावाहुरी, बाढी, प्रकोपदेखि नदीनाला र हिमालहरूको विस्तृत अवस्था पत्ता लगाउन सकिन्छ। तर, हाम्रो सानो स्याटेलाइट यति धेरै सूचना पठाउन सक्षम छैन। यसको क्यामराको गुणस्तर र क्षमता कम छ।

‘हाम्रो स्याटेलाइटले अमेरिका, बेलायत वा जापानका ठूला स्याटेलाइटले जस्तो काम गर्दैन,’ ढकालले भने, ‘आज उडाएपछि भोलिबाटै मौसमको ठीक ठीक पूर्वानुमान गर्न सक्छौं भन्ने होइन। यसले सामान्य जानकारी मात्र दिने हो। कुन ठाउँमा के भइरहेको छ भन्न सक्छौं, तर ठ्याक्कै क्षेत्र तोक्न सक्दैनौं।’

उदाहरणका लागि, चारकोशे झाडीमा आगलागी भएको तस्बिरबाट देखिए पनि ठ्याक्कै कुन ठाउँमा आगो लागेको हो यकिन हुँदैन। यसको निम्ति अन्य शक्तिशाली स्याटेलाइटको मद्दत लिनुपर्नेछ।

उनका अनुसार यो स्याटेलाइट जापानको क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्युटेक) सँग मिलेर बनाइएको हो। यसमा राष्ट्रसंघको सहयोग छ।

क्युटेकले स्याटेलाइट नभएका नेपालजस्ता देशलाई सहयोग गर्दै आएको छ। नेपालसँगै श्रीलंकाको रावन–१ पनि प्रक्षेपण गरिँदैछ।

स्याटेलाइट बनाउन नेपाल तर्फबाट नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र नेपाली वैज्ञानिक आभाष मास्के जापानमै बसेर काम गरिरहेका छन्।

श्रेष्ठ क्युटेकमै इलेक्ट्रिकल तथा कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने मास्के स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गर्दै छन्।

उनीहरू दुई जना र अरू विभिन्न देशका आठ जना विद्यार्थी मिलेर यी स्याटेलाइट बनाएका हुन्।

यस निम्ति नेपालले क्युटेकलाई एक करोड ८० लाख रुपैयाँ पठाएको थियो। त्यही पैसाले जापानमै सामान किनेर स्याटेलाइट बनाएको ढकालले जानकारी दिए।

यसरी निर्माण भएको स्याटेलाइट क्युटेकले जापानको एरोस्पेस कम्पनी ‘ज्याक्सा’ लाई बुझायो। नेपाली स्याटेलाइट कहाँ लगेर, कसरी उडाउने भन्ने निर्क्यौल गरेको ज्याक्साले नै हो।

नेपाल र जापानको स्याटेलाइटसँग हरिराम श्रेष्ठ (बायाँ) र आभाष मास्के (दायाँ)। तस्बिर सौजन्यः नास्ट

सबै काम जापानमा गरिएको स्याटेलाइट अमेरिकाबाट किन उडाइयो?

ढकालका अनुसार संसारमा अमेरिका, जापान, भारत, चीन लगायत १२ देशबाट मात्र स्याटेलाइट उडाइन्छ। उडान खर्च र त्यसको निम्ति चाहिने प्रविधि धान्न सबै देश सक्षम छैनन्।

यति मात्र होइन, सकेसम्म पृथ्वीको मध्यभागमा पर्ने क्षेत्रबाट स्याटेलाइट उडाउनु राम्रो हुने ढकाल बताउँछन्।

‘मध्यभागबाट सिधा माथि छाड्दा पछि त्यसको ठाउँ तय गर्न सहज हुन्छ,’ उनले भने, ‘दुर्घटना नहोस् भनेर मान्छेको बसोबास क्षेत्रबाट टाढा समुद्रनजिक वा टापुतिरबाट उडाउनुपर्छ।’

नेपालको स्याटेलाइट जापानले पनि उडाउन सक्थ्यो। तर, त्यहाँ यो सिजनका लागि रकेट उडाउने कम्पनी खाली थिएन। कुन कम्पनी खाली छ भनेर खोज्दै जाँदा अमेरिकाको ‘अर्बिटल एटिके’ फेला परेको हो।

स्याटेलाइट उडाउन अब एक दिन मात्र बाँकी हुँदा पनि त्यसले पठाउने तथ्यांक र सूचना विश्लेषण निम्ति ‘ग्राउन्ड स्टेसन’ बनाउन भने हामी पछि पर्दै गएका छौं।

स्याटेलाइट उडाउने र ग्राउन्ड स्टेसन बनाउने काम सँगसँगै गर्नुपर्ने थियो। तर, स्टेसन बनाउन भर्खरै टेन्डर आह्वान गरिएकाले सबै प्रक्रिया सकेर निर्माण गर्न समय लाग्ने देखिन्छ।

नास्ट परिसरमै बन्ने स्टेसनका लागि ट्रान्समिटर र रिसिभर विदेशबाट ल्याउनुपर्छ। यसको फ्रिक्वेन्सी सञ्चार मन्त्रालयले दिइसकेको छ।

‘ग्राउन्ड स्टेसन तयार नभएकाले हाम्रो स्याटेलाइटले पठाएका सूचनाको रेकर्ड राख्ने काम अहिलेलाई क्युटेकले नै गर्नेछ,’ उनले भने, ‘क्युटेकमा भएका हाम्रा साथीहरूले तथ्यांक उपलब्ध गराउनुहुनेछ।’

उनका अनुसार जेठ अन्तिमसम्म स्टेसन निर्माण पूरा गर्ने योजना छ। त्यसपछि बल्ल हाम्रो स्याटेलाइटसँग सिधा सम्पर्क गर्न, त्यसले पठाउने तथ्यांक संकलन र विश्लेषण आफैं गर्न नास्ट सक्षम हुनेछ।

 

स्टेसन निम्ति २० लाख हाराहारी बजेट छुट्टयाइएको छ।

अब प्रश्न उठ्छ, चहकिलो तस्बिरसमेत पठाउन नसक्ने सानो स्याटलाइट उडाएर नेपाललाई के फाइदा? कतै यो हाम्रो रहर मात्र त होइन?

ढकाल यसलाई सुरूआती कदमका रूपमा लिन्छन्।

‘यो हाम्रो सुरूआती तर महत्वपूर्ण कदम हो,’ उनले भने, ‘मान्छेको बच्चा पनि उभिएर टुकुटुकु हिँड्नुअघि भुइँमा घस्रन्छ नि, यो पनि त्यस्तै हो।’

‘सानो भए पनि हामी अन्तरिक्षमा उपस्थिति जनाउन सफल हुनेछौं। यही अनुभवका आधारमा आगामी दिनमा शक्तिशाली स्याटेलाइट निर्माण गर्न सक्षम हुँदै जानेछौं,’ उनले भने।

क्युटेकसँगको सहकार्यले उसको पहुँचमा रहेका अन्य स्याटेलाइटसँग पनि हामी जोडिनेछौं। ‘हामी बंगलादेश वा घानाको स्याटेलाइटले खिचेका तस्बिर प्रयोग गर्न सक्छौं,’ उनले भने।

उनका अनुसार नेपालको आफ्नै स्याटेलाइट नहुँदा स-साना विवरण निम्ति पनि अन्य मुलुकसँग सहयोग माग्नुपर्छ। सानो सूचनाका लागि धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता छ।

‘हाम्रो स्याटेलाइटले सोचेअनुरूप काम गर्यो भने यो प्रवृत्ति केही हदसम्म अन्त्य हुन्छ,’ उनले भने, ‘विस्तारै हामी अर्को चरणको स्याटेलाइटमा जान सक्यौं भने त विदेशीसँग किन्नै पर्दैन।’

यो स्याटेलाइटको आयु नसकिँदै मध्यम आकारको स्याटेलाइट उडाउने नास्टको लक्ष्य छ।

नेपाली स्याटेलाइट जुन गुणस्तर र प्रकृतिको छ, त्यो पहिलो चरण हो। यसलाई ‘युनिट १’ भनेर वर्गीकरण गरिएको छ। अब ‘युनिट ३’ मा जाने प्रयास भइरहेको ढकालले बताए।

युनिट ३ मा गइसकेपछि स्याटेलाइटको क्यामरा र सेन्सर गुणस्तरीय हुनेछ।

‘त्यसपछि हामी स्याटेलाइटबाट आउने रेकर्ड हेरेर स्थिति आकलन गर्न सक्छौं,’ उनले भने, ‘त्यही अवस्थासम्म पुग्न यो हामीले चालेको पहिलो कदम हो।’

setopati बाट

Similar Articles

Top