तपाईं यहाँ हुनुहुन्छ
Home > समाचार > मोतिलाल बहुमुखी क्याम्पसको दशौं बार्षिकोत्सब सम्पन्न

मोतिलाल बहुमुखी क्याम्पसको दशौं बार्षिकोत्सब सम्पन्न

फाल्गुन ११, कृष्ण पाण्डेय, नवलपरासी सुनवल १३ स्थित मोतिलाल बहुमुखी क्याम्पसको आज १० औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। २०६५ साल मंसिर ३० देखि पौष ७ गतेसम्ममा बिराट ज्ञान धनधान्याञ्चल महायज्ञ सञ्चालन गरि सामुदायिक क्याम्पसको रुपमा रहेको क्याम्पस २०६५ फाल्गुन ११ स्थापना गरिएको थियो ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष श्री नारायण तिवारीको अध्यक्षता रहेको उक्त कार्यक्रममा सुनवल नगरपालिका उप प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यता थियो भने बिशिस्ट अतिथि सुनवल १३ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्ण प्रसाद देवकोटा , वडा नं. १२ का वडाध्यक्ष यमलाल पाण्डेय, वडा नं. ११ का वडाध्यक्ष देविलाल डुम्रे , कार्यापालिका सदस्य फणीन्द्र कुमाल , कार्यापालिका सदस्य गौमाया गुरुङ , क्याम्पसका निवर्तमान अध्यक्ष प्रकाश पंगेनी लगाएत अन्य अतिथिहरु, क्याम्पस व्यवस्थापनका पदाधिकारीहरु, प्राध्यापकहरु, चन्दादाता, अभिभावक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन पानसमा दिप प्रज्वलन तथा सरस्वतीको तस्बिरमा माल्यार्पण गरेर गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष खुमानन्द न्यौपाने व्यक्त गर्नुभएको थियो । उक्त वार्षिकोत्सब कार्यक्रममा शैक्षिक प्रतिवेदन पेश गर्दै त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रणको कार्यालय बल्खु द्वारा अघिल्लो बर्ष लिएको चौथो बर्षको नतिजा राष्ट्रिय स्तरमा १७% भइरहदा क्याम्पस को नतिजा ७६% रहेको क्याम्पस प्रमुख बसन्त सुबेदिले उल्लेख गर्नुभएको थियो ।

प्रतिवेदन पेस गर्दै सुबेदीले यहीँ बर्ष देखि विद्यार्थीहरुलाई निशुल्क आधारभुत कम्प्युटर तालिमको व्यवस्था, खुला पुस्तकालय अवधारणामा Open space library , ईन्टरनेट सहितको पुस्तकालय रहेको र विश्वबिद्यालय अनुदान आयोगद्वारा प्रदान गर्ने गुणस्तरीय सम्बन्धि मापक “गुणस्तर सुनिश्चितता र प्रत्यायन (QAA)” प्राप्तिका लागि प्रक्रियामा रहेको र प्राध्यापक एवं कर्मचारीको सेवासुबिधामा वृद्धि भएको कुरा कार्यक्रममा बताउनु भयो । प्रमुख अतिथिका रुपमा सुनवल नगरपालिकाका उपप्रमुख श्री दधिराम अर्याल ज्युले स्थानीयतहको क्षेत्राधिकार भित्र क्याम्पस नपर्ने भएता पनि आफुहरु लागि परेको जनाउनु भयो । क्याम्पस व्यवस्थापन समिति का सदस्य श्री लेखनाथ खराल ज्युले विद्यार्थी , अभिभावक, प्राध्यापक तथा समिति लागाएत सबै सरोकारवाला मिलि क्याम्पस स्थापना जसरी लागिएको थियो त्यसरी नै सञ्चालन गर्न लाग्नुपर्ने बताउनुभयो ।

क्याम्पसको प्राध्यापक संघ अध्यक्ष तथा प्राध्यापक चुडामणि भण्डारीले क्याम्पसको हरेक क्षेत्रलाई व्यवस्थापन गर्दै नमूना क्याम्पस बनाउनुपर्नेमा जोड दिनुभएको थियो । विद्यार्थीहरुको तर्फबाट मन्तव्य दिदै लिलाधर पाण्डेले शैक्षिक बिकास मात्र नभई व्यक्तित्व बिकासमा समेत क्याम्पस अब्बल रहेको बताउनुभयो । महायज्ञमा सर्वाधिक दानदाता स्व. मोतीलाल न्यौपानेको नाममा सञ्चालन भएको क्याम्पसमा त्रिभुवन विश्वविद्यालय बाट २०६६ साल व्यवस्थापन र २०६७ सालमा मानविकी संकायमा सम्बन्धन प्राप्त सहित अध्ययन सुरु भएको हो । उक्त क्याम्पसले स्थापनाकाल देखी नै जिल्लामा उत्कृष्ट नतिजा दिएको छ। नवलपरासी जिल्लाकै सर्वोत्कृष्ट शैक्षिक संस्थामा चिनिएको यस क्याम्पसमा दीर्घकालीन श्रोत खोज्नुपर्ने अन्य अतिथिहरुले जोड दिनुभएको थियो । उक्त कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमका साथसाथै बार्षिकोत्सबको पुर्वसन्ध्यामा सञ्चालन गरिएका अतिरिक्त क्रियाकलापहरुका पुरस्कार बितरण समेत गरिएको कार्यक्रमको सञ्चालन क्याम्पसका प्राध्यापक भोजराज पौडेलले गर्नुभएको थियो ।

Similar Articles

Top